जिराभवानी गाउँपालिकाका दुई विद्यालयमा राहत करार शिक्षक नियुक्तिको विषयलाई लिएर आर्थिक चलखेलको आरोप लागेको छ। आरोपमाथि निष्पक्ष छानबिन गरी तथ्य सार्वजनिक गर्न स्थानीय युवा समूहले माग गरेको छ ।
जिराभवानी गाउँपालिका–स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा बिर्तामा निम्न माध्यमिक तहको राहत करार शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालन गरिएको थियो। यही नियुक्ति प्रक्रियालाई लिएर परीक्षार्थीले सम्बन्धित निकायमा दिएको निवेदनमा आर्थिक लेनदेनको आरोप लगाइएको छ ।
निवेदनमा विद्यालयका प्रधानाध्यापक खेमराज प्रसाद महतोले परीक्षा हुनुभन्दा करिब तीन महिनाअघि एक परीक्षार्थीसँग नियुक्तिका लागि ६ लाख रुपैयाँ लिएको दाबी गरिएको छ। त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक महतोसँग जोडेर १ लाख रुपैयाँ लेनदेन भएको जानकारी आफूहरूले पाएको जिराभवानी गाउँपालिकाका युवा समाजको दाबी छ ।
युवा समाजले भने आरोपको वास्तविकता पत्ता लगाउन शिक्षक नियुक्तिको सम्पूर्ण प्रक्रिया छानबिन गर्नुपर्ने माग गरेको छ। संस्थाले सम्भावित आर्थिक कारोबारको विवरण परीक्षण गर्न, परीक्षा सञ्चालनसम्बन्धी निर्णय तथा उत्तरपुस्तिका जाँच गर्न र मूल्याङ्कन प्रक्रिया पारदर्शी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । युवा समाजले आरोप पुष्टि भए संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने बताउँदै योग्य उम्मेदवार छनोट हुने वातावरण सुनिश्चित गर्न माग गरेको छ ।
अर्को विद्यालयमा पनि आर्थिक लेनदेनको आरोप
जिराभवानी गाउँपालिका–३ स्थित बितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा पनि राहत करार शिक्षक नियुक्तिलाई लिएर आर्थिक लेनदेनको आरोप सार्वजनिक भएको छ।
स्रोतको दाबीअनुसार माध्यमिक तह राहत नेपाली विषयको करार शिक्षक नियुक्तिका क्रममा ७ लाख रुपैयाँसम्म रकम लेनदेन भएको आरोप छ। उक्त रकम विद्यालयका प्रधानाध्यापक रामाशंकर प्रसाद, व्यवस्थापन समितिका अध्यक्ष सिताराम राय थारु, गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी तथा शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रतिनिधिबीच बाँडफाँट भएको स्रोतको दाबी छ।
तर, उक्त आरोपको स्वतन्त्र पुष्टि हुने प्रमाण सार्वजनिक भइसकेको छैन।
गाउँपालिका भन्छ– प्रमाण भेटिए कारबाही हुन्छ
जिराभवानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिवराज फ्यूयालले शिक्षक नियुक्तिमा आर्थिक लेनदेन भएको विषयमा गाउँपालिकामा हालसम्म कुनै लिखित उजुरी नपरेको बताएका छन् । उनले प्रमाणबिना अनुमानका आधारमा आरोप लगाउन नहुने बताउँदै आर्थिक लेनदेन भएको तथ्य तथा प्रमाण फेला परे सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे ।
दुई विद्यालयमा शिक्षक नियुक्तिलाई लिएर आर्थिक चलखेलको आरोप सार्वजनिक भएपछि नियुक्ति प्रक्रिया, परीक्षा तथा मूल्याङ्कन निष्पक्ष भए–नभएको विषयमा पनि प्रश्न उठेको छ। अब सम्बन्धित निकायले आरोपको छानबिन गरी वास्तविकता सार्वजनिक गर्ने कि नगर्ने भन्नेमा स्थानीयको चासो देखिएको छ ।