प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सत्रमा सहभागिता जनाउनेछन् ।
प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम छ। महासभाको उच्चस्तरीय बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा हुँदैछ ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।
प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो । उनी सेप्टेम्बर २६ अर्थात् असोज १० गते काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।