जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पथलैया निवासी जनकबहादुर थापाका करिब ५४ वर्षीय छोरा राम थापा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ६ बजे घरबाट करिब १०० मिटर पूर्वतर्फ थापा अचेत अवस्थामा लडिरहेको आफन्तले देखेका थिए। घटनाबारे साँझ ६ः४० बजे प्रहरी चौकी पथलैयामा खबर पुगेको थियो ।
सूचना पाएलगत्तै प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले थापालाई उद्धार गरी उपचारका लागि सिमरा नगर अस्पताल पुर्याएको थियो ।
अस्पतालमा उपचारकै क्रममा साँझ ६ः५० बजे चिकित्सकले थापालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उनको शरीरमा बाहिरी चोटपटक भने नदेखिएको प्रहरीको भनाइ छ ।
मृतकको शव हाल सिमरा नगर अस्पतालमै राखिएको छ। घटनाको प्रारम्भिक अनुसन्धान तथा आवश्यक मुचुल्काका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा टोली खटाइएको छ।
घटनाको कारणबारे खुलिनसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।