जनकपुरधाममा बैंक खाताबाट खातावालाको जानकारी र स्वीकृतिबिनै रकम अन्य खातामा स्थानान्तरण भएको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ निवासी रतिश कर्णकी श्रीमती रजनी कर्णको नबिल बैंकमा रहेको खाताबाट ७० हजार १० रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर भएको हो ।
कर्णको पिडारी चोकस्थित नबिल बैंक शाखामा रहेको खाताबाट मोबाइल बैंकिङ प्रयोग गरी प्राइम कमर्सियल बैंकमा रहेको मो. शेख फैजल जमालको खातामा रकम पठाइएको बैंक स्टेटमेन्टमा उल्लेख छ। स्टेटमेन्टअनुसार सेप्टेम्बर २० मा उक्त रकम ट्रान्सफर भएको देखिएको छ ।
आफूले कुनै कारोबार नगरे पनि खातामा रहेको रकम घटेको थाहा पाएपछि कारोबार विवरण जाँच गर्दा रकम अन्य खातामा पठाइएको भेटिएको रजनीले बताएकी छन् । त्यसपछि बैंकमा पुग्दा आफ्नो खाताबाट अनधिकृत रूपमा रकम स्थानान्तरण भएको जानकारी पाएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।
रजनीले सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिँदै रकम कुन माध्यमबाट, कसरी र कहिले ट्रान्सफर गरिएको हो भन्ने विषयमा अनुसन्धान गर्न माग गरेकी छन्। साथै, घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न तथा आफ्नो खाताबाट अनधिकृत रूपमा निकालिएको रकम फिर्ता गराउन उनले आग्रह गरेकी छन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अघि बढाएको छ। प्रहरीले नेपाल राष्ट्र बैंकसहित सम्बन्धित बैंकहरूलाई घटनासम्बन्धी विवरण पठाएर आवश्यक जानकारी उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ ।
प्रहरीका अनुसार रकम मोबाइल बैंकिङमार्फत ट्रान्सफर भएको देखिए पनि प्रयोग भएको प्रविधि, पहुँच कसरी प्राप्त भयो र रकम स्थानान्तरणमा को–को संलग्न थिए भन्ने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ ।
धनुषामा बैंकिङ कसूर तथा ठगीसम्बन्धी घटनासमेत उल्लेख्य रहेको प्रहरीको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार गत भदौमा बैंकिङ कसूरका ४ र ठगीका १३ वटा मुद्दा दर्ता भएका थिए। त्यस्तै, साउनमा बैंकिङ कसूरका ११ तथा ठगीका १४ वटा मुद्दा दर्ता भएका थिए ।
डिएसपी खनालका अनुसार मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफरसँग सम्बन्धित घटनाहरू प्रत्येक महिना एक दर्जनभन्दा बढी आउने गरेका छन्। तीमध्ये कतिपय घटनाको अनुसन्धानबाट समाधान भएको र केही घटनामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बैंक खाताबाट खातावालाको जानकारीबिनै रकम स्थानान्तरण भएको पछिल्लो घटनाले डिजिटल बैंकिङको सुरक्षा र प्रयोगकर्ताको सतर्कतामाथि पनि प्रश्न उठाएको छ। घटनामा रकम ट्रान्सफर गर्न प्रयोग भएको माध्यम तथा संलग्न व्यक्तिबारे थप तथ्य प्रहरी अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ ।