काठमाडौंको त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन गर्न यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले माग गरेका छन् ।
असोज ५ गते बा.५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक दोङले आत्मदाह प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै विभिन्न यातायातसम्बद्ध ६ वटा संघसंस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
संघसंस्थाहरूका अनुसार मूलपानीबाट यात्रु बोकेर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पतालअगाडि पुगेका बेला आफ्नै लेनमा रहेको मोटरसाइकलका कारण बाटो अवरुद्ध भएको थियो। त्यसक्रममा चालकले हर्न बजाएपछि ट्राफिक प्रहरीले बस रोकेर कागजात मागेको र त्यसपछि विवाद भएको उनीहरूको दाबी छ ।
विज्ञप्तिमा ट्राफिक प्रहरीले यात्रुलाई बसबाट ओरालेर करिब दुई घण्टासम्म बस नियन्त्रणमा राखेको तथा चालकलाई बग्गीखाना लैजान खोजिएको उल्लेख छ। चालकले त्यसको प्रतिवाद गरेपछि तनाव बढेको र अन्ततः उनले शरीरमा आगो लगाएको संघसंस्थाहरूको दाबी छ ।
चालक प्रहरी नियन्त्रणमा रहेको अवस्थामा आत्मदाह प्रयास भएको भन्दै यातायात क्षेत्रका संगठनहरूले घटनामा सुरक्षा तथा निगरानीसम्बन्धी प्रश्न उठाएका छन्। उनीहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
संघसंस्थाहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका छन् । साथै, घटनामा बस पूर्ण रूपमा जलेको भन्दै सम्बन्धित बसधनीलाई समेत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
उनीहरूले यातायात श्रमिकलाई श्रम ऐनअनुसार रोजगार सम्झौता र सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने, ट्राफिक प्रहरीबाट हुने भनिएको दुर्व्यवहार तथा हैरानीबारे उजुरी गर्न २४ घण्टे हेल्पलाइन र द्रुत सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने बताएका छन् ।
त्यस्तै, सडकमा ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा तथा छानबिन गर्न, ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र जनमुखी बनाउन तथा सरोकारवालाको सहभागितामा अनुगमन संयन्त्र निर्माण गर्न माग गरिएको छ। ट्राफिक प्रहरीलाई प्राप्त तजबिजी अधिकारको सम्भावित दुरुपयोग रोक्न अधिकार प्रत्यायोजनसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्ने पनि उनीहरूको माग छ ।
माग सम्बोधनका लागि ६ वटा महासंघ तथा संघका अध्यक्षहरू सम्मिलित संयुक्त संघर्ष समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ। मागहरू तत्काल सम्बोधन नभए थप शान्तिपूर्ण तथा कानुनसम्मत आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।
विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलासहित सार्वजनिक यातायात केन्द्रीय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन् ।