चितवन जिल्ला अदालतले बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनको मुन्द्रा निकालेको अभियोग लागेका दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। अदालतले मदन गुरुङ र उमेश चौधरीसँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।
जिल्ला अदालत चितवनका न्यायाधीश चाणकमणि अर्यालको इजलासले सोमबार दुवै प्रतिवादीबाट २५/२५ हजार रुपैयाँ धरौटी लिएर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै नारायणी नदीमा आएको बाढीले बगाएर ल्याएको एक महिलाको शव भरतपुर महानगरपालिका–२ स्थित नारायणी नदी किनारमा अड्किएको थियो। सोही क्रममा बाढी हेर्न पुगेका गुरुङ र चौधरीले शवको कानमा सुनको मुन्द्रा देखेपछि निकालेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
सामाजिक सञ्जालमा घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा अडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुवैलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट प्रहरीले चारवटा सुनका मुन्द्रा बरामद गरेको जनाएको छ ।
अनुसन्धानका क्रममा दुवै जनाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको अदालतको मिसिलमा उल्लेख छ। बयानका क्रममा बाढीले बगाएर ल्याएका मानिस तथा सामान हेर्न नदी किनार पुगेका बेला शवको कानमा सुनको मुन्द्रा देखेपछि निकाल्ने योजना बनाएको उनीहरूले बताएका थिए ।
मिसिलअनुसार चौधरीले बाँसको लाठीको सहायताले शवलाई पानीबाट उचाल्ने र गुरुङले कानबाट मुन्द्रा निकाल्ने गरी योजना बनाइएको थियो। त्यसपछि निकालिएका चारवटा मुन्द्रा दुवै जनाले दुई–दुईवटा बाँडेको बयानमा उल्लेख गरिएको छ ।
अदालतले प्रहरीको अनुसन्धान प्रतिवेदन, बरामदी मुचुल्का, सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्य तथा प्रतिवादीहरूको बयानलाई आधार बनाएको छ। तत्कालै थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएपछि धरौटी माग गरिएको अदालतको आदेशमा उल्लेख छ ।
मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि दुवै जनालाई जनही २५ हजार रुपैयाँ धरौटी बुझाउन अदालतले आदेश दिएको हो ।