काठमाडौं । इरानी एयरलाइन्समाथि अमेरिकाले प्रतिबन्ध थप कडा बनाउने तयारी गरिरहेका बेला चीनले त्यसको विरोध गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी एयरलाइन्सलाई विश्वभर सञ्चालन गर्न कठिन हुने चेतावनी दिएको भोलिपल्ट चीनले अमेरिकी कदमलाई ‘अवैध एकपक्षीय प्रतिबन्ध’ भनेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अन्तर्राष्ट्रिय कानूनको आधार वा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्दै आएको बताउनुभएको छ ।
बेसेन्टले सेप्टेम्बर २३ देखि इरानी विमानलाई इन्धन, अवतरण सेवा वा टिकट उपलब्ध गराउने विदेशी कम्पनी तथा संस्थामाथि अमेरिकी वित्तीय प्रणालीबाट अलग हुने जोखिम रहने चेतावनी दिनुभएको थियो । अमेरिकाले यसै महिनामा बाँकी रहेका इरानी एयरलाइन्समाथि समेत प्रतिबन्ध लगाएको छ ।
अमेरिकी प्रतिबन्धको दायरामा इरानको उड्डयन क्षेत्रलाई सहयोग गर्ने इरानबाहिरका कम्पनी तथा संस्थालाई समेत समेटिएको छ । इरानी उड्डयन क्षेत्रले लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण विमान, स्पेयर पार्टपुर्जा, मर्मतसम्भारका सामग्री तथा सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएको छ।
चीनको पछिल्लो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने शिखर वार्ताअघि आएको हो । बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग आर्थिक विषयमा छलफल गरेको भोलिपल्ट चीनले इरानी एयरलाइन्समाथिको अमेरिकी कदमबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।
यसैबीच, अमेरिका र इरानबीच जारी द्वन्द्व तथा हर्मुज जलडमरूमाथिको तनावले विश्व ऊर्जा बजारमा समेत असर पारिरहेको छ। चीन इरानको प्रमुख आर्थिक साझेदारमध्ये एक हो ।