वीरगंज महानगरपालिका–२० अपौनीमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहरा हटाइएको छ। महानगरपालिकाले मंगलबार नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोली परिचालन गरी अतिक्रमण हटाएको हो ।
नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा भौतिक अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नं. ५ का अध्यक्ष प्रदीपकुमार चौरसियाको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
महानगरपालिकाका अनुसार स्थानीय हृदयनारायण सिंह, लक्ष्मण पण्डित, रमेश सिंह, कृपानारायण सिंह, नन्दकिशोर पुरीलगायतले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाएर जग्गा खाली गराइएको हो ।
अतिक्रमणका कारण विगत ६ वर्षदेखि रोकिएको करिब ८४ करोड रुपैयाँको विकास योजना अब अघि बढ्ने भएको महानगरपालिकाले जनाएको छ । ‘स्वच्छन्द निर्माण सेवा’ले ठेक्का पाए पनि सार्वजनिक जग्गा खाली नभएका कारण योजना कार्यान्वयनमा जान सकेको थिएन ।
लामो समयदेखि रोकिएको विकास योजना अघि बढ्ने भएपछि स्थानीयवासीले सार्वजनिक जग्गा अतिक्रमण हटाउने महानगरपालिकाको कदमको स्वागत गरेका छन् ।