बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गर्दै खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार भारतबाट खैरो हेरोइन ल्याएर लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहबारे निगरानी गर्ने क्रममा भारतको उत्तर प्रदेश, बहराइच जिल्ला रुपैडिया थाना चकिया रोडका २४ वर्षीय नदिम राई पक्राउ परेका हुन् ।
भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरिरहेका उनलाई शंका लागेर प्रहरीले रोक्न खोज्दा भागेपछि नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ। त्यसपछि मोटरसाइकलको टायरमा दुई राउन्ड गोली प्रहार गरी नेपालगञ्ज उपमहानगरपालिका–१४ बाट उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएर खानतलासी गर्दा राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद भएको जनाएको छ ।
पक्राउ परेका राईलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।
लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खैरो हेरोइनको कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय तथा ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको ब्युरोले जनाएको छ ।