भन्सार प्रक्रिया पूरा गरेर आएको भारतीय गाडी नियन्त्रणमा लिएको विषयमा कञ्चनपुर भन्सार कार्यालयका एक अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई फोन गरी दबाब दिएको आरोप लागेको छ। उनीहरूबीच भएको भनिएको टेलिफोन संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसी र कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टबीच भएको भनिएको संवादमा भट्टले नियन्त्रणमा लिइएको गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन आग्रह गरेका छन् ।
अडियोमा भट्टले गाडी नछाडिए गृहमन्त्री, प्रहरी महानिरीक्षक (आईजीपी) तथा भन्सार विभागका उच्च अधिकारीलाई जानकारी गराउने चेतावनी दिएको सुनिन्छ। उनले भन्सारबाट पास भइसकेको गाडी कैलालीमा नियन्त्रणमा लिनुको कारणसमेत एसपी केसीसँग सोधेका छन् ।
एसपी केसीले गाडीमा सामानको कम मूल्यांकन अन्डरविलिङ भएको हुनसक्ने आशंकामा नियन्त्रणमा लिएको बताएपछि भट्टले त्यस्तो शंका भए गाडी भन्सार कार्यालयमा पठाउनुपर्ने बताएका छन् ।
संवादका क्रममा भट्टले कञ्चनपुरबाट जाने सामानलाई बाटोमा अनावश्यक दुःख दिने गरेको आरोपसमेत लगाएका छन्। उनले गाडीमा सामानको परिमाण फरक भेटिए सम्बन्धित उच्च अधिकारीलाई जानकारी गराउने बताएका छन् ।
अडियोमा भन्सार अधिकृत भट्टले गाडी नियन्त्रणमा लिन गएको सुरक्षाकर्मीको टोली र त्यसको औचित्यमाथि प्रश्न उठाएको पनि सुनिन्छ। उनले गाडी नियन्त्रणमा लिनुका पछाडि आर्थिक लेनदेनको आशंका व्यक्त गरे पनि त्यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।
प्रहरी स्रोतका अनुसार भट्टले कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी हीरासिंह महरालाई समेत फोन गरी स्पष्टीकरण तथा कारबाहीको चेतावनी दिएका थिए। भट्टले डीएसपी महरासँग चर्को स्वरमा कुरा गरेको स्रोतको दाबी छ।
के हो घटना
प्रहरी स्रोतका अनुसार अडियो संवाद अत्तरियामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतीय नम्बर प्लेटको यूपी ३१ सीटी १३०३ नम्बरको गाडी नियन्त्रणमा लिएको घटनासँग सम्बन्धित छ ।
टायर, ट्युबलगायतका सामान बोकेको उक्त गाडी गड्डाचौकी भन्सार कार्यालयबाट प्रक्रिया पूरा गरी आएको बताइएको छ। सामानको वास्तविक मूल्यभन्दा कम मूल्यांकन गरी भन्सार पास गरिएको हुनसक्ने सूचनाका आधारमा गाडी नियन्त्रणमा लिइएको प्रहरी स्रोतको दाबी छ ।
नियन्त्रणमा लिइएको गाडी सुरुमा कैलाली भन्सार कार्यालयमा बुझाइएको र त्यसपछि इलाका प्रहरी कार्यालयमार्फत कञ्चनपुर भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।
गाडी नियन्त्रणमा लिनुपर्ने अवस्था, सामानको वास्तविक मूल्यांकन तथा भन्सार प्रक्रिया कानुनअनुसार भए–नभएको विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ। सार्वजनिक भएको अडियोको स्वतन्त्र पुष्टि तथा त्यसमा संलग्न पक्षको विस्तृत प्रतिक्रिया पनि प्राप्त हुन सकेको छैन।