त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको ठूलो परिमाणको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
विमानस्थलको प्रस्थान कक्षमा यात्रुको ब्यागेज एक्सरे मेसिनबाट जाँच गर्ने क्रममा शंका लागेपछि थप अनुसन्धान गर्दा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बरामद चुरोटमा शिखर, सूर्य, क्याप्टेन, पाइलोट र खुकुरी ब्रान्डका ७२ बन्डल अर्थात् ७२० प्याकेट रहेका छन् ।
त्यस्तै, जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट ब्रान्डका ६९ पोका सुर्तीजन्य पदार्थ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका चुरोट तथा सुर्तीजन्य पदार्थ आवश्यक कानुनी प्रक्रिया अघि बढाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।
घटनामा संलग्न व्यक्ति तथा सामान विदेश लैजान खोज्नुको उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।