नेपालगन्जबाट १३ जना यात्रु लिएर डोल्पाको जुफाल विमानस्थल पुगेको सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको टायर फुत्किएको छ ।
नाइ–एन–एजेएच कलसाइन भएको जहाज आज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा टायर फुत्किएको हो । जहाजमा सात जना विदेशी नागरिकसहित १३ जना यात्रु सवार थिए ।
टायर फुत्किए पनि जहाजमा रहेका सबै यात्रु सकुशल रहेको र कुनै मानवीय क्षति नभएको विमानस्थल सुरक्षा पोस्टले जनाएको छ ।
जहाज धावनमार्गमै रोकिएपछि जुफाल विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ । अवतरणका लागि आएको नेपाली सेनाको जहाजसमेत अवतरण नगरी फर्किएको जनाइएको छ ।
जहाज मर्मतका लागि आजै हेलिकप्टरमार्फत प्राविधिक टोली ल्याउने तयारी भइरहेको बताइएको छ । समयमै जहाज नियन्त्रणमा आएपछि ठूलो दुर्घटना टरेको जनाइएको छ।