पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक आवागमन मार्गका रूपमा रहेको वीरगंज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बनेको छ। सडक मर्मतसम्भार नहुँदा दैनिक हजारौँ यात्रु तथा मालवाहक सवारीसाधन जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
वीरगंजको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी), सुक्खा बन्दरगाह तथा औद्योगिक क्षेत्रतर्फ जाने सडकका विभिन्न भागमा ठूलाठूला खाल्डा परेका छन्। अत्यधिक भार बोकेका ट्रक, ट्याङ्कर तथा लरीको नियमित आवागमनका कारण सडक थप जीर्ण बन्दै गएको चालकहरू बताउँछन्।
खाल्डाखुल्डीका कारण सवारीसाधनको गति घटाउनुपर्ने अवस्था छ। रातिको समयमा खाल्डा स्पष्ट देखिन नसक्दा दुर्घटनाको जोखिम झनै बढ्ने चालकहरूको भनाइ छ। सडकको खराब अवस्थाका कारण यात्रा समय बढ्नुका साथै टायर, सस्पेन्सन र स्टेरिङलगायतका पार्टपुर्जामा समेत क्षति पुग्ने गरेको उनीहरू बताउँछन्।
स्थानीय नेता नेजामुद्दीन समानीले सडक प्रयोग गर्ने सवारीसाधनबाट विभिन्न शीर्षकमा कर तथा शुल्क उठाइए पनि सडकको नियमित मर्मतमा पर्याप्त ध्यान नदिइएको गुनासो गरे। उनका अनुसार सडक सुरक्षित नभएसम्म ट्राफिक व्यवस्थापनबाट मात्रै दुर्घटनाको जोखिम कम गर्न कठिन हुन्छ।
वीरगंजको आइसिपी, सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्रसँग जोडिएको यो सडक मालसामान ढुवानीका दृष्टिले महत्वपूर्ण भएकाले सडक बिग्रँदा ढुवानीमा ढिलाइसँगै व्यवसायी तथा यातायात क्षेत्रको लागतसमेत बढेको स्थानीयको भनाइ छ।
स्थानीय तथा चालकहरूले तत्काल खाल्डाखुल्डी पुर्न, जीर्ण सडकको मर्मत गर्न र दीर्घकालीन रूपमा सडक स्तरोन्नति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।