त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन्। कतारको दोहाबाट काठमाडौं आएका यात्रुमार्फत सुन ओसारपसार तथा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिस अन्सारी र भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेका छन् ।
प्रहरीका अनुसार अन्सारीलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका ७९.६ ग्राम गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौं आएका थोडीको गतिविधि शंकास्पद देखिएपछि विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो। जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो पदार्थ ५३६ ग्राम फेला परेको प्रहरीको भनाइ छ ।
प्रहरीले बरामद धातु वास्तविक सुन भए/नभएको सम्बन्धमा आवश्यक परीक्षण तथा अनुसन्धान अघि बढाउने जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।