अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन् ।
प्रहरीका अनुसार अंसारीविरुद्ध परेको जाहेरीका आधारमा दायर मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले २०८२ पुस २४ गते १८ वर्ष कैद सजाय, ६ लाख रुपैयाँ जरिवाना र अपराध पीडित राहत कोषमा २४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।
अदालतको फैसला भएपछि अंसारी फरार रहेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बुधबार कलैया उपमहानगरपालिका–६ स्थित कलैया बजारबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले फरार प्रतिवादी अंसारी पक्राउ परेको जानकारी दिए। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।