भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायलाई विपद् पूर्वतयारीका लागि उच्च सतर्क अवस्थामा राखिएको छ। सम्भावित बाढी, डुबान तथा कटानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको हो ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीका अनुसार प्रदेशका सबै सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि ‘स्ट्यान्डबाइ’ राखिएको छ। आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी बढाउन निर्देशन दिइएको उनले बताए ।
उनका अनुसार जोखिम तथा अति जोखिमयुक्त क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ। जनधनको क्षति रोक्न अधिकतम सतर्कता अपनाइएको डीआईजी अधिकारीले बताए ।
निर्माणाधीन पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा आकस्मिक बाढीको सम्भावनालाई ध्यानमा राख्दै विशेष निगरानी गर्नसमेत निर्देशन दिइएको छ। उद्धार तथा राहतका लागि प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्ज र जनकपुरलाई पनि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।
यसैबीच, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आपसी समन्वयमा तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
रौतहटदेखि सप्तरीसम्म जोखिम
मधेशमा रौतहटलाई बाढी तथा डुबानको दृष्टिले जोखिमयुक्त जिल्लामध्ये एक मानिन्छ। बागमती र लालबकैया नदीमा पानीको बहाव बढ्दा गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुरका तटीय बस्ती प्रभावित हुने गरेका छन्।
धनुषामा कमला, जलाद र औरही नदीको बहाव बढ्दा गणेशमान चारनाथ, सबैला, सहिदनगर, कमला र विदेह क्षेत्र जोखिममा पर्ने गरेका छन्। जनकपुरधाममा भने वर्षाका बेला कमजोर ढल तथा निकास प्रणालीका कारण सहरी डुबानको समस्या देखिने गरेको छ।
सिरहामा कमला, बलान तथा स्थानीय खोलाका कारण सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया र भगवानपुर क्षेत्र प्रभावित हुन सक्ने जोखिम छ। सप्तरीमा सप्तकोशीसँगै खाँडो, महुली, जिता र बलान नदीका कारण हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता तथा राजविराज आसपासका क्षेत्र जोखिममा पर्ने गरेका छन्।
सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीका कारण बरहथवा, बलरा, गोडैता, कौडेना र बसबरिया क्षेत्र जोखिममा पर्ने गरेका छन्।
महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीका कारण जलेश्वर, मटिहानी, बलवा, मनरा सिसवा र एकडारा क्षेत्रमा बाढी तथा कटानको जोखिम रहने गरेको छ।
बारामा पसाहा, दुधौरा, बालगङ्गा र तिलावे नदी तथा खोलाबाट आउने आकस्मिक बाढीका कारण कलैया, जीतपुरसिमरा, परवानीपुर र देवताल क्षेत्र प्रभावित हुन सक्ने बताइएको छ।
पर्सामा ओरिया नदीको कटान तथा श्रीसिया र तिलावे नदीको बहावका कारण जगरनाथपुर, धोबिनी, वीरगन्ज महानगरपालिका र पोखरिया आसपासका केही क्षेत्र जोखिममा पर्ने गरेका छन्।
यसैबीच, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण कोशी, मधेश र बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाको सम्भावनासँगै नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।