केही दिन भारी वर्षाको सम्भावना रहेकाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशय आसपास बाढी जोखिमलाई ध्यानमा राख्दै सतर्कता बढाइएको छ ।
सम्भावित बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासनको पहलमा कुलेखानी क्षेत्रमा तीन स्थानमा साइरन जडान गरिएको हो। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र इन्द्रसरोवर गाउँपालिकाको कार्यालयमा साइरन राखिएको छ ।
जलाशयमा पानीको सतह बढ्दै गएमा साइरन बजाएर आसपासका बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराउने व्यवस्था गरिएको राउतले बताए ।
उनका अनुसार अहिले इन्द्रसरोवर जलाशयमा पानीको सतह १ हजार ५२२.२५ मिटर रहेको छ। जलसतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीका रूपमा साइरन बजाइनेछ ।
त्यस्तै, जलसतह १ हजार ५२८ मिटर पुगेमा दोस्रो चेतावनी दिँदै केही लामो समय साइरन बजाइनेछ। सोभन्दा माथि जलसतह पुगेमा निरन्तर लामो साइरन बजाएर जोखिमबारे सचेत गराउने व्यवस्था गरिएको छ।
साइरनको संकेतअनुसार स्थानीय बासिन्दाले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने जलविद्युत् केन्द्रले जनाएको छ।
यसैबीच, सम्भावित बाढीको जोखिम र जलाशयको अवस्थाबारे जानकारी लिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी नेतृत्वको टोलीले बुधबार कुलेखानी जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। टोलीले सम्बन्धित निकायका प्रतिनिधिसँग जोखिम न्यूनीकरण तथा पूर्वतयारीबारे छलफलसमेत गरेको छ।
मौसममा आएको परिवर्तन र भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले मकवानपुरवासीलाई आफ्नो क्षेत्रमा सम्भावित जोखिमबारे सचेत रहन तथा आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।