जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानबाट १०३ रनको लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०२ रन बनाएको हो। नेपाली बलरले सुरुदेखि नै दबाब कायम राखेपछि अफगानिस्तानले अपेक्षाअनुसार ठूलो स्कोर बनाउन सकेन।
नेपालका लागि कुशल भुर्तेलले चार तथा ललित राजवंशीले तीन विकेट लिए। ललितले सुरुवाती ओभरमै अफगानिस्तानका शीर्ष तीन ब्याट्सम्यानलाई आउट गर्दै नेपाली टोलीलाई बलियो सुरुवात दिलाए।
ललितले पहिलो ओभरको अन्तिम बलमा हसन एसाखिललाई खाता खोल्न नदिई बोल्ड गरे। तेस्रो ओभरको दोस्रो बलमा मोहम्मद अकरमलाई दुई रनमा लोकेश बमको हातबाट क्याच गराए। पाँचौँ ओभरको पहिलो बलमा करिम जनतलाई नौ रनमा बोल्ड गर्दै उनले आफ्नो तेस्रो विकेट लिए।
त्यसपछि फैसल खान अहमदजाई र नजिबुल्लाह जदरानले केही समय अफगानिस्तानको इनिङ्स सम्हाले। फैसलले ३३ बलमा एक छक्का र दुई चौकासहित ३० रन बनाए। उनलाई १३औँ ओभरको तेस्रो बलमा कुशल भुर्तेलले आउट गराए।
मोहम्मद इशाक सात रनमा आउट भए। उनलाई १५औँ ओभरको तेस्रो बलमा कुशल भुर्तेलले एलबीडब्ल्यूको धरापमा पारे। त्यसको अर्को बलमै कप्तान डार्विस रसुलीलाई पनि भुर्तेलले एलबीडब्ल्यू गराए। रसुलीले खाता खोल्न सकेनन्।
नजिबुल्लाह जदरानले ४० बलमा दुई चौकासहित ३० रन बनाए। उनलाई १९औँ ओभरको अन्तिम बलमा कुशल भुर्तेलले करण केसीको हातबाट क्याच गराए।
अफगानिस्तानका ननगेयालिआ खान १७ र अब्दुल्लाह अहमदजाई एक रनमा अविजित रहे। अफगानिस्तानले अतिरिक्तबाट थप ६ रन पाएको थियो।
समूह “ए” मा रहेको नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेको हो भने अफगानिस्तानको यो दोस्रो खेल हो। अफगानिस्तानले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो।