काठमाडौं–सिमरा उडानमा रहेको बुद्ध एयरको विमान सिमरा विमानस्थलमा प्रतिकूल मौसमका कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको छ ।
बिहीबार बिहान सिमरा क्षेत्रमा वर्षासँगै तीव्र हावाहुरी चलेपछि विमानले सिमरा विमानस्थलमा अवतरणको प्रयास गरेको थियो। तर, मौसममा सुधार नआएपछि विमानले सिमराको आकाशमा करिब दुई फन्को लगाएर ‘होल्ड’ गरेको थियो ।
अवतरणका लागि अनुकूल अवस्था नबनेपछि विमानलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको हो। विमान सुरक्षित रूपमा काठमाडौं फर्किएको जनाइएको छ ।
उडान तालिकाअनुसार बिहान ७:२० बजे काठमाडौं–सिमरा उडान गर्ने बुद्ध एयरको उडान नम्बर ५५१ रहेको थियो। सिमरा क्षेत्रमा बिहानैदेखि वर्षासँगै हावाहुरीको सम्भावना रहेकाले उडान प्रभावित भएको हो ।
काठमाडौं–सिमरा हवाई रुटमा हाल बुद्ध एयरले नियमित उडान सञ्चालन गर्दै आएको छ। प्रतिकूल मौसमका कारण सिमरा विमानस्थलमा उडान तथा अवतरण प्रभावित हुन सक्ने भएकाले यात्रुलाई सम्बन्धित विमान कम्पनीसँग उडान अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।