मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो एक सातादेखि भइरहेको अविरल वर्षा र हावाहुरीका कारण घर, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीका विभिन्न स्थान प्रभावित भएका छन् ।
पर्साको ठोरी गाउँपालिका–५ आठघरे टोलमा हावाहुरीले कान्छी स्याङवोको टिनको छानो भएको घरको जस्तापाता उडाउँदा घरमा पूर्ण क्षति पुगेको छ। बाराको कलैया उपमहानगरपालिका–२ कबहीमा अमिन मियाँको घरको गारो र छाना आंशिक रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
रौतहटका राजपुर नगरपालिका–९ वैरिया, कटहरिया नगरपालिका–१ भसेढवा, मौलापुर नगरपालिका–४ पतौरा र गरुडा नगरपालिका–८ गम्हरियामा पनि वर्षा र हावाहुरीका कारण घर तथा गोठमा क्षति पुगेको छ।
सर्लाहीका विष्णु, मलंगवा, कौडेना र चन्द्रनगरलगायतका क्षेत्रमा कच्ची घर, गोठ तथा अन्य संरचनामा आंशिक तथा पूर्ण क्षति भएको प्रहरीले जनाएको छ। महोत्तरीको मनरा शिसवा नगरपालिका–१ चौरिया टोलमा चन्द्रकाला मण्डलको बाँस र फुसले बनेको घर भासिएपछि बस्न नसक्ने अवस्थामा पुगेको छ ।
धनुषाको मिथिला नगरपालिका–११ आपगाछीमा पहिरो खस्दा राजन श्रेष्ठको घर पुरिएको छ। घटनामा चार जनाको सकुशल उद्धार गरिए पनि पहिरोमा पुरिएकी करिब ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको छ। उनको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल बर्दिबास पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ तथा हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न क्षेत्रमा पानी पसेको छ। कोशी बाँध आसपासका करिब दुई सय घरधुरीको घरआँगनमा पानी प्रवेश गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार, क्षतिको विवरण संकलन तथा आवश्यक समन्वयको काम भइरहेको छ। वर्षा र हावाहुरीबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले माइकिङ, गस्ती तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।