रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा लालबकैया नदीको बाढीले तटबन्ध कटान गरेपछि सुरक्षाकर्मी र नदी नियन्त्रण टोलीले रोकथामको काम थालेका छन् ।
तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण नदीको जलस्तर बढेपछि तटबन्ध कटान भएको हो। कटान भएको क्षेत्रमा आइतबार बिहानदेखि बोरा राखेर थप क्षति हुन नदिन प्रयास भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित सुरक्षाकर्मीको टोलीले बिहानै कटान प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो। टोलीले नदीको जलस्तर, तटबन्धको अवस्था तथा आसपासका क्षेत्रमा हुन सक्ने बाढी र डुबानको जोखिमबारे जानकारी लिएको छ।
प्रजिअ पौडेलका अनुसार लालबकैया नदीले मर्यादपुर र भगवानपुर क्षेत्रमा केही क्षति पुर्याएको छ। कटान नियन्त्रणका लागि बिहानैदेखि बोरा राख्ने काम भइरहेको र हाल तत्कालको जोखिम कम हुँदै गएको उनले बताएका छन् ।
तटबन्ध कटानका कारण आसपासका बस्तीमा बाढी तथा डुबानको जोखिम भने कायमै छ। जोखिम बढे स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारीसहित सम्बन्धित निकायलाई सतर्क अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।