काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका ४६ वर्षीय अस्लम सोकटलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विमानस्थलमा अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखिएपछि उनलाई शंका लागेर जाँच गरिएको थियो। सो क्रममा अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा ४२२.५ ग्राम सुनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सोकटलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।