गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको भन्दै सार्वजनिक मर्यादाविपरीत अडियो संवाद गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भई काठमाडौंको कागेश्वरी मनोहरा–५ बस्ने ३७ वर्षीय आशिष भनिने धर्मराज मल्ल रहेका छन् ।
मल्लले गरेको भनिएको सार्वजनिक मर्यादाविपरीतको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे बुझ्न प्रहरी टोली उनको सम्पर्कमा पुगेको थियो। सो क्रममा उनले सार्वजनिक स्थानमै प्रहरी टोलीमाथि गालीगलौज गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मल्लविरुद्ध जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार मल्लविरुद्ध यसअघि पनि विभिन्न कसुरमा दर्ता भएका ६ वटा उजुरी फेला परेका छन्। उक्त उजुरी र पछिल्लो घटनाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।