०१. सार्वजनिक वित्त व्यवस्थापन सुधारमा जोड
मधेशको सार्वजनिक वित्त व्यवस्थापन सुधारमा मुख्यमन्त्री यादवको प्रतिबद्धता
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सार्वजनिक वित्त व्यवस्थापनलाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सोमबार जनकपुरधाममा प्रदेशको पहिलो सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता (पीईएफए) मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै मुख्यमन्त्री यादवले सीमित स्रोतसाधनको पारदर्शी र प्रभावकारी उपयोग गर्दै नागरिकलाई गुणस्तरीय सेवा प्रवाहमा जोड दिने बताउनुभयो।
पीईएफए मूल्याङ्कन प्रतिवेदनले प्रदेशको वित्तीय व्यवस्थापनमा केही प्रगति देखाए पनि सार्वजनिक खरिद, आन्तरिक नियन्त्रण, वित्तीय निगरानी तथा बजेट कार्यान्वयनका क्षेत्रमा थप सुधार आवश्यक रहेको औँल्याएको छ।
मुख्यमन्त्री यादवले प्रतिवेदनले औँल्याएका कमजोरी सुधार गर्दै प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
०२. ३ करोड ५० लाखको गाडी खरिद प्रक्रिया
खर्च कटौतीबीच मधेशमा मुख्यमन्त्री कार्यालयका लागि ३ करोड ५० लाखको गाडी खरिद प्रक्रिया
मधेश प्रदेश सरकारले खर्च कटौती गर्दै सरकारी सवारीसाधन खरिदमा रोक लगाए पनि मुख्यमन्त्री कार्यालयका लागि करिब ३ करोड ५० लाख रुपैयाँको गाडी खरिद प्रक्रिया अघि बढाएको छ।
श्रम तथा यातायात मन्त्रालयले भीभीआईपीको प्रयोगका लागि भन्दै महँगो गाडी खरिद गर्न टेण्डर आह्वान गरेको हो।
अर्थ मन्त्रालयले सरकारी सवारीसाधन खरिदमा रोक लगाए पनि भीभीआईपीका लागि आवश्यक पर्ने भन्दै उक्त गाडी खरिदका लागि सहमति दिएको जनाएको छ।
प्रदेशको बजेट ७ अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको अवस्थामा महँगो सवारीसाधन खरिद प्रक्रिया अघि बढाइएपछि सरकारको खर्च प्राथमिकतामाथि प्रश्न उठेको छ।
सरकारले एकातर्फ खर्च कटौती र सवारीसाधन खरिदमा रोक लगाउने निर्णय गरेको अवस्थामा अर्कोतर्फ भीभीआईपीका लागि भन्दै महँगो गाडी खरिद प्रक्रिया अघि बढाएको हो।
०३. चामलमा टुटी भेटिएपछि उद्योगलाई जरिवाना
वीरगञ्जमा चामलमा टुटी भेटिएपछि उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना
वीरगञ्जस्थित महावीर एग्रो प्रोडक्ट प्रालिमा उत्पादित चामलमा टुटी भेटिएपछि संयुक्त अनुगमन टोलीले उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा पुगेको अनुगमन टोलीले उद्योगको निरीक्षण गर्ने क्रममा चामलमा टुटी भेटिएपछि कारबाही गरेको हो।
अनुगमन टोलीले कम्पनीलाई तीन दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
टोलीले खाद्य वस्तुको गुणस्तर कायम गर्न तथा प्रचलित कानुनी मापदण्डको पूर्ण पालना गर्न उद्योगलाई आग्रहसमेत गरेको छ।
०४. मेनरोड विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग
मेनरोड विस्तारसँगै विद्युत् वितरण प्रणाली भूमिगत गर्न वीरगञ्ज महानगरको माग
वीरगञ्ज महानगरपालिकाले मेनरोड विस्तारसँगै विद्युत् वितरण प्रणाली भूमिगत गर्न ऊर्जा मन्त्रालयसँग बजेट विनियोजनको माग गरेको छ।
महानगरपालिकाका मेयर राजेशमान सिंहले ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै सडक विस्तारपछि पुनः ओभरहेड तार राख्दा भविष्यमा सडक मर्मत, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या उत्पन्न हुने उल्लेख गर्नुभएको छ।
गण्डक–घण्टाघर–भन्सार सडकखण्डको दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारको काम अन्तिम चरणमा रहेकाले अहिले नै विद्युत् वितरण प्रणाली भूमिगत गर्न महानगरले आग्रह गरेको हो।
महानगरका अनुसार सडक विस्तारपछि विद्युत्का तार तथा पोल पुनः व्यवस्थापन गर्दा थप खर्च र समस्या उत्पन्न हुन सक्ने भएकाले सडक विस्तारसँगै भूमिगत विद्युत् प्रणाली निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न मन्त्रालयसँग माग गरिएको हो।


०५. अन्तर्राष्ट्रिय थाहा पाउने दिवसमा प्रभातफेरी
अन्तर्राष्ट्रिय थाहा पाउने दिवसमा कलैयामा प्रभातफेरी
अन्तर्राष्ट्रिय थाहा पाउने दिवसको अवसरमा सूचनाको हकका लागि महासंघ, बाराको आयोजनामा कलैयामा प्रभातफेरी निकालिएको छ।
महासंघ बाराका अध्यक्ष निरञ्जनकुमार साहको नेतृत्वमा निकालिएको प्रभातफेरीमा राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
‘पारदर्शिता र जवाफदेहिताको आधार, सूचनाको हक’, ‘सूचना हाम्रा अधिकार’ लगायतका नारासहित निकालिएको प्रभातफेरी कलैया बजारका विभिन्न क्षेत्र परिक्रमा गरी भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा सूचनाको हकको प्रभावकारी कार्यान्वयन, सार्वजनिक निकायमा पारदर्शिता तथा नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।
०६. अठराहा सुगौली डुबानपछि आईसीपी गेटमा चक्काजाम
अठराहा सुगौली डुबानमा परेपछि आईसीपी गेटमा स्थानीयको चक्काजाम
लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ अठराहा सुगौली क्षेत्र जलमग्न भएपछि स्थानीयले पानी निकासको माग गर्दै अलौस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को गेटमा चक्काजाम गरेका छन्।
पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती, सडक तथा सयौँ बिघा खेतीयोग्य जमिन डुबानमा परेको स्थानीयले बताएका छन्।
डुबानका कारण स्थानीयको जनजीवन प्रभावित हुनुका साथै आवतजावतमा समेत समस्या भएको छ। वर्षौँदेखि पानी निकासको समस्या रहे पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल नभएको स्थानीयको गुनासो छ।
स्थानीयले तत्काल पानी निकासको व्यवस्था गर्न तथा वर्षायाममा दोहोरिरहने डुबान समस्याको दीर्घकालीन समाधान खोज्न माग गरेका छन्।
०७. महोत्तरीमा धानबालीमा रोगको प्रकोप
महोत्तरीमा धानबालीमा रोगको प्रकोप, उत्पादन घट्ने चिन्ता
सिमसिमे वर्षाले कृषि क्षेत्रमा केही राहत दिए पनि धानबालीमा विभिन्न रोगको प्रकोप बढेपछि महोत्तरीका किसानमा उत्पादन घट्ने चिन्ता बढेको छ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार पर्याप्त वर्षा नहुँदा जिल्लामा करिब ८० प्रतिशत मात्रै धान रोपाइँ भएको थियो। रोपिएको धानमा दक्षिणी क्षेत्रमा सिथ ब्लाइट तथा उत्तरी क्षेत्रमा गबारो, लिफ ब्लाइटलगायतका रोग देखिएका छन्।
ज्ञान केन्द्रका अनुसार भारतबाट ल्याइएको प्रतिबन्धित सोना मनसुली धानको बिउ प्रयोग भएका खेतमा सिथ ब्लाइटको समस्या बढी देखिएको छ। जिल्लाका दक्षिणी भेगका करिब ७० प्रतिशत किसानले सोना मनसुली जातको धान लगाएको जनाइएको छ।
धानबालीमा रोगको प्रकोप बढ्दै गएपछि किसानले उत्पादनमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। कृषि प्राविधिकहरूले रोगको पहिचान गरी आवश्यक उपचार तथा व्यवस्थापनका उपाय अपनाउन किसानलाई सुझाव दिएका छन्।
०८.रौतहटमा अवैध सालको काठसहित एक जना पक्राउ
रौतहटको चन्द्रपुर नगरपालिका-७ स्थित रङ्गपुर साझेदारी वन क्षेत्रबाट अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेको आरोपमा एक जना पक्राउ परेका छन्।
चन्द्रपुर सब-डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वनबाट खटिएको संयुक्त वन गस्ती टोलीले नयाँबस्ती कटानीदेखि उत्तरतर्फको वन क्षेत्रमा अनुगमन गर्ने क्रममा काठ ओसारपसार गरिरहेको अवस्थामा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
वन गस्ती टोलीले घटनास्थलबाट २४।७० क्युबिक फिट परिमाणको ५ थान सालको गोलिया काठ, तीन वटा साइकल र एउटा आरा बरामद गरेको छ। पक्राउ पर्ने व्यक्ति चन्द्रपुर नगरपालिका-७ नयाँबस्ती कटानीका स्थानीय बासिन्दा रहेको वन कार्यालयले जनाएको छ।
अनुसन्धानको प्रक्रियामा रहेकाले उनको नाम भने खुलाइएको छैन। नियन्त्रणमा लिइएका व्यक्ति, जफत गरिएको काठ तथा अन्य सामग्रीलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको छ।
०९.लागूऔषध ओसारपसारको आरोपमा एक जना पक्राउ
धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले २०.३४ ग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय अजय मण्डल रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा लागूऔषध कारोबार भइरहेको स्थानमा पुगेर मण्डललाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मण्डललाई नियन्त्रणमा लिइएको हो । पक्राउ गर्ने क्रममा प्रहरी र मण्डलबीच तनावको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाईफायर गरेको जनाएको छ ।
घटनाका क्रममा एक जना प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ। पक्राउ परेका मण्डलमाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताएका छन् ।
१०.सप्तकोशी नदीमा आएको बाढीले सप्तरीमा ५ सयभन्दा बढी घर डुबानमा
सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न स्थानीय तहका ५ सयभन्दा बढी घर डुबानमा परेका छन्। लगातारको वर्षासँगै नदीमा पानीको बहाव बढेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका तटीय क्षेत्र प्रभावित भएका हुन्। हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. ५ मा ३८० घर तथा वडा नं. १३ स्थित गोबरगाढा टापुमा १५० घर डुबानमा परेको नगरपालिकाले जनाएको छ। त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं. ४, ५ र ११ का २७ घरसमेत डुबानमा परेका छन्।
तीन दिनदेखि घरभित्र पानी पसेका कारण खाद्यान्न, लत्ताकपडा, दाउरा लगायतका सामग्री निकाल्न नसक्दा प्रभावित परिवारलाई दैनिक गुजारा चलाउनसमेत समस्या भएको स्थानीयले बताएका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका–७ की ४० वर्षीया विमलाकुमारी सदाले आफूहरूको आठ जनाको परिवार रहेको र शनिबार रातिदेखि नगरपालिकाले बिहान–बेलुका खाना उपलब्ध गराउन थालेको बताइन्। उनका अनुसार घरमा पानी पसेपछि बस्न, नुहाउन तथा लुगा धुनसमेत समस्या भएको छ।
वर्षेनि बाढीको समस्या झेल्दै आएको बताउँदै सदाले स्थायी समाधानका लागि सरकारले सुरक्षित बसोबासको विकल्प उपलब्ध गराउनुपर्ने माग गरिन्। उनका अनुसार बाढीका कारण हरेक वर्ष घर तथा सम्पत्तिमा क्षति पुग्ने र पानी सुकेपछि पुनः शून्यबाट जीवन सुरु गर्नुपर्ने अवस्था छ।