बाराको सिम्रौनगढमा सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ निवासी ५० वर्षीय जयप्रकाश गुप्ता रहेका छन् ।
गोलागन्जस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्टबाट खटिएको टोलीले गएराति सिम्रौनगढ नगरपालिका–६, सलेमपुरमा चेकजाँच गर्ने क्रममा गुप्तालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार गुप्ताले बोकेको धानको बीउ राख्ने बोराभित्र लुकाइएको अवस्थामा एउटा सानो र एउटा ठूलो गरी दुई थान कटुवा पेस्तोल फेला परेको थियो। सोही क्रममा पाँच राउन्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका जिल्ला प्रवक्ता विक्रममणि अधिकारीले बरामद हतियार तथा गोलीसहित गुप्तालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको जानकारी दिएका छन् ।