अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट राइनास नगरपालिकालाई प्राप्त १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार तत्कालीन रोजगार संयोजक न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन लेखापाल नवीनकुमार बरालविरुद्ध छुट्टाछुट्टै बिगो कायम गरिएको छ। न्यौपानेसँग १८ लाख ३९ हजार २५६ रुपैयाँ तथा अधिकारी र बरालसँग जनही १६ लाख ७२ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
यसैगरी, राइनास नगरपालिकाका तत्कालीन वडा अध्यक्ष तथा वडा सदस्यहरू रमेश न्यौपाने, ओजराज पौडेल, जैमान गुरुङ, नन्दबहादुर कुमाल, रुकबहादुर तामाङ गुरुङ, माधवप्रसाद पराजुली र कृष्णप्रसाद लामिछाने तथा राइनास नगरपालिकाविरुद्ध पनि छुट्टाछुट्टै बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार आर्थिक वर्षको अन्तिम दिन कानुनबमोजिम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने रकम तत्कालीन रोजगार संयोजक न्यौपानेले पेश्की लिएर अन्य प्रतिवादीहरूको खातामा जम्मा गरेका थिए। तर उक्त रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नभएको र पेश्कीसमेत हालसम्म फर्छ्योट नभएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।
त्यसैगरी, न्यौपानेले २०७६ वैशाख १६ गते नगरपालिकाबाट बुझेका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा २०७७ कात्तिक १ गते बर्खास्त भएपछि पनि कार्यालयमा बरबुझारथ नगरेको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार ती सरकारी सामग्रीको परल मूल्य १ लाख ६७ हजार २५६ रुपैयाँ रहेको छ । सरकारी रकम तथा सम्पत्तिको हिनामिना, दुरुपयोग र हानिनोक्सानी गरी गैरकानुनी लाभ लिने बदनियत देखिएको भन्दै प्रतिवादीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको अख्तियारको निष्कर्ष छ ।