कञ्चनपुरमा एसियाकै दोस्रो लामो मानिने दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति पुगेपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ ।
दोधारा–चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा रहेको उक्त पुलको दोधारातर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दोधारा–चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ लाई जोड्ने करिब १ हजार ४ सय ५३ मिटर लामो पुलका आठमध्ये पिल्लर नम्बर ३ भाँचिएको छ । पिल्लर भाँचिएपछि पुलको करिब ५ देखि ६ मिटर भाग माथि उठ्नुका साथै संरचना बाङ्गिएको प्रहरीले जनाएको छ ।
पुलको संरचनामा क्षति पुगेपछि पैदल तथा अन्य आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। यसबाट त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।
पुल क्षतिग्रस्त भएपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायले स्थलगत अवस्थाबारे आवश्यक पहल गर्दै शीघ्र मर्मत–सम्भारको तयारी गरिरहेको जनाइएको छ ।