इराकबाट अमेरिकी सेना पूर्ण रूपमा बाहिरिएको छ । बुधबार इराकको अन्तिम सैन्य अड्डाबाट अमेरिकी सैनिकको अन्तिम समूह बाहिरिएसँगै सन् २००३ देखि जारी अमेरिकी सैन्य उपस्थितिको लामो अध्याय औपचारिक रूपमा अन्त्य भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिका र इराकबीच सन् २०२४ मा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको सैन्य मिसन अन्त्य गर्ने सहमति भएको थियो। सोही योजनाअनुसार सन् २०२५ सम्ममा इराकका अधिकांश क्षेत्रबाट गठबन्धन सेना हटाउने र बाँकी सैनिकलाई सन् २०२६ को सेप्टेम्बरसम्म फिर्ता गर्ने योजना थियो ।
अमेरिकी सेना पहिलोपटक सन् २००३ मा तत्कालीन राष्ट्रपति सद्दाम हुसेनको सरकारलाई सत्ताच्युत गर्न गरिएको अमेरिकी नेतृत्वको सैन्य आक्रमणपछि इराक पुगेको थियो। सद्दाम सत्ताच्युत भएपछि पनि अमेरिकी सेना केही वर्ष इराकमै रह्यो र सुरक्षा तथा नयाँ सरकार निर्माण प्रक्रियामा सहयोग गरेको थियो ।
सन् २०११ को अन्त्यमा अमेरिकी सेना पहिलोपटक इराकबाट पूर्ण रूपमा बाहिरिएको थियो। तर सन् २०१४ मा इस्लामिक स्टेटले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि इराकी सरकारको आग्रहमा अमेरिकी नेतृत्वको गठबन्धन सेना पुनः इराक फर्किएको थियो ।
त्यसपछि अमेरिकी सेनाले इराकी सुरक्षा बललाई तालिम, गुप्तचर सूचना, निगरानी तथा हवाई कारबाहीमार्फत इस्लामिक स्टेटविरुद्ध सहयोग गर्दै आएको थियो। सन् २०१७ सम्ममा इस्लामिक स्टेटले नियन्त्रणमा लिएको अधिकांश भूभाग गुमाए पनि समूह पूर्ण रूपमा समाप्त भने भएको छैन ।
यसपटकको फिर्तीपछि बाँकी अमेरिकी तथा गठबन्धन सैनिकलाई इराकबाहिर सारिएको छ। इस्लामिक स्टेटविरुद्धको क्षेत्रीय अभियान भने इराकबाहिरबाट जारी राख्ने योजना रहेको वासिङ्टन पोस्टले जनाएको छ ।
अमेरिकी सेना बाहिरिएसँगै इराकको सुरक्षा अवस्थाबारे भने विभिन्न प्रश्न उठेका छन्। इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले अमेरिकी सैन्य उपस्थिति हटेपछि इरान समर्थित सशस्त्र समूहको प्रभाव बढ्न सक्ने तथा इस्लामिक स्टेटका साना समूह र स्लीपर सेलले पुनः गतिविधि बढाउन सक्ने आशंका व्यक्त गरेका छन् ।
अमेरिकी सेना फिर्तीलाई केही इराकीले राष्ट्रिय सार्वभौमसत्तासँग जोडेर सकारात्मक कदमका रूपमा हेरेका छन् भने इरान समर्थित सशस्त्र समूहहरूले यसलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।