मधेस प्रदेशको एक मात्र महानगर वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/२०८४ को बजेट संशोधन गरि २१ करोड रुपैयाँ घटाएको छ ।
बुत्रबार आयोजित वीरगंज महानगरपालिकाको २१ औं विशेष नगरसभामा मेयर राजेशमान सिंहले यसअघि १० असारमा सम्पन्न २० औं नगरअधिवेशनले ल्याएको बजेटमा संशोधन गरि त्यसमा २१ करोड रुपैयाँ घटाएर नयाँ बजेट ल्याएका हुन् ।
यसअघि महानगरका मेयर सिंह निलम्बनमा रहेका बेला १० असारमा कार्यवाहक मेयर (हालका उपमेयर) इम्तियाज आलमको सभाध्यक्षतामा सम्पन्न २० औं नगरसभाले चालू आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
तर विशेष अदालतबाट सफाई पाएपछि तीन महिना पश्चात असोज ३ गतेदेखि पुन मेयर पद सम्हालेका सिंहले बुधबार २१ औं विशेष नगरसभा गरेर १० असारको बजेटमा संशोधन गरि चार अर्ब २१ करोड ३४ लाख ६९ हजारको बजेट ल्याएका हुन् ।
बुधबारको विशेष नगरसभामा मेयर सिंहले प्रस्तुत गरेको संशोधित बजेटमा चालु आर्थिक वर्षका लागि संशोधित कुल ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार विनियोजन गरिएको छ उल्लेख छ। जसमध्ये चालु खर्चतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार अर्थात ५६ प्रतिशत,पुँजिगत खर्चतर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार अर्थात ४३ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ७ करोड अर्थात् १ प्रतिशत रहेको उल्लेख छ।
संशोधित बजेटमा चालु आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतहरु मध्ये आन्तरिक राजस्वबाट १ अर्ब २७ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख ,संघीय राजस्व वाँडफाँडबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजस्व वाडँफाडबाट १ करोड ६७ लाख १४ हजार, घर जग्गा रजिष्ट्रेशन शुल्क वापत ४५ करोड र नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ ।