पाकिस्तान एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले कम्तीमा रजत पदक पक्का गरेको हो ।
वर्षाले भिजेको मैदानका कारण खेल समयमा सुरु हुन सकेको थिएन । ढिला सुरु भएपछि १३ ओभरको खेल तय भएको थियो ।
बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११.३ ओभरमा पूरा गर्यो । अब्दुल समद ३० रनमा नटआउट रहे भने हसन नवाज २७ रनमा नटआउट रहे ।
बंगलादेशका महेदी हसन, नसुम अहमद, मुस्तफिजुर रहमान र रिशाद होसेनले १(१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो ।
तोहिद रिदोएले सर्वाधिक ४२ रन बनाए । सेफ हसनले १९ तथा मोसदेक हुसेनले ११ रन बनाए ।
पाकिस्तानले अब स्वर्ण पदकका लागि भारत र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ ।
बंगलादेशले कांस्य पदकका लागि भारत र श्रीलंकाबीच पराजित हुने टोलीसँग खेल्नेछ ।