बाराको सिमरा चोकबाट प्रहरीले करिब तीन किलो अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी ४८ वर्षीया पत्नी रोशनी राई रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पैदल हिँडिरहेका दम्पतीमाथि शंका लागेपछि प्रहरीले रोकेर उनीहरूले बोकेको झोला जाँच गरेको थियो। जाँचका क्रममा झोलाभित्र लुकाएर राखिएको अवस्थामा २ किलो ९७० ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जका प्रहरी वरिष्ठ नायब निरीक्षक शेखर सिवाकोटी र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी हवल्दार उमेश यादवको नेतृत्वमा संयुक्त टोली परिचालन गरिएको थियो ।
बरामद अफिमसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले दम्पतीको साथबाट २ किलो ९७० ग्राम अफिम बरामद भएको पुष्टि गरेका छन् ।