सशस्त्र प्रहरीले रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेल रहेकी छन् । उनलाई सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति पक्राउ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीसँग रहेको सुनका गरगहना परीक्षण गर्दा एक किलोग्राम रहेको पुष्टि भएको थियो। गरगहनाको परीक्षण सिद्धार्थनगरका सुनचाँदी व्यवसायीबाट गरिएको डीएसपी थापाले बताए ।
पक्राउ परेकी पटेललाई बरामद सुनका गरगहनासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।