काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउने महत्वाकांक्षी सपना बाँडे पनि अहिले बजेट अभाव देखाएर पन्छिन खोजेको आरोप लगाइन् । उनले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बीमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिइन् ।
उनले भनिन्, 'स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भन्ने महत्वाकांक्षी सपना बाँड्ने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार अभिव्यक्ति सुनेर अचम्म लाग्यो । चल्ने बेला स्वास्थ्य बीमा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि नचल्ने बेला यसलाई अलपत्र पारेर वर्षौंसम्म हतोत्साहित बनाउने बानी राम्रो भएन ।
यसका लागि सल्लाह दिन सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सल्लाह दिन तयार छौं । स्वास्थ्य बीमा सुरु गरौं, मन्त्रीज्यूका परिवार र मन्त्रालयबाटै गरौं ।'