भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाई दुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग टेलिफोनमा कुराकानी गर्दै उनको साहस र यात्रुको सुरक्षालाई प्राथमिकता दिएको निर्णयको प्रशंसा गरेका छन् ।
गम्भीर चोट लागेपछि उपचाररत क्याप्टेन स्मितसँग कुराकानी गर्दै मोदीले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । कठिन अवस्थामा समेत यात्रुको ज्यान जोगाउन पाइलटले देखाएको तत्परताप्रति भारतभर गर्व गरिएको मोदीले बताएका छन् ।
मोदीले देशका विभिन्न स्थानमा क्याप्टेन स्मितको स्वास्थ्यलाभका लागि प्रार्थना भइरहेको उल्लेख गर्दै उनको साहस, धैर्य र सुझबुझले धेरै मानिसको जीवन जोगाउन योगदान पुगेको बताए ।
कुराकानीका क्रममा क्याप्टेन स्मितले घटनाको समयमा आफू घाइते भएर विमानभित्रै लडेको बताएका थिए । शरीरमा चोट लागे पनि विमानभित्रको अवस्था बिग्रिँदै गएको महसुस भएपछि आफूले उठेर आवश्यक कदम चाल्ने प्रयास गरेको उनको भनाइ थियो ।
स्मितका अनुसार उनी १७ वर्षदेखि विमान उडाउँदै आएका छन् भने पछिल्लो ११ वर्षदेखि क्याप्टेनका रूपमा कार्यरत छन् । लामो अनुभवका कारण विमानभित्र असामान्य अवस्था सिर्जना हुँदा आफूले त्यसलाई तत्काल महसुस गर्न सकेको उनले मोदीलाई बताएका थिए ।
घाइते अवस्थामा पनि उनले ककपिटको ढोका खोल्ने प्रयास गरेको र त्यसपछि अन्य व्यक्तिलाई भित्र प्रवेश गर्न सहज भएको बताए । उक्त प्रयासमा आफू एक्लै नभई अन्य व्यक्तिको समेत महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।
‘म आफ्नो ज्यान बचाउने प्रयास गरिरहेको थिएँ, तर त्यही समयमा ती मानिसहरूलाई मर्न दिन सक्दिनँ भन्ने लागिरहेको थियो,’ स्मितले कुराकानीका क्रममा भनेका थिए ।
पीडाका बीच हनुमान चालिसा पाठ
क्याप्टेन स्मितले कठिन र पीडादायी अवस्थामा आफूले हनुमान चालिसा पाठ गर्ने गरेको पनि बताए । भगवानप्रतिको विश्वासले आफूलाई कठिन समय सामना गर्न हौसला दिएको उनको भनाइ थियो ।
उनले अहिलेको चोटलाई निराशाको रूपमा नलिएर विस्तारै निको हुने प्रक्रियाका रूपमा लिएको बताएका छन् । आफू पूर्ण रूपमा स्वस्थ भएर फर्किने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
परिवारको अवस्थाबारे पनि मोदीको चासो
कुराकानीका क्रममा मोदीले क्याप्टेन स्मितका परिवारसँग भएको संवादको समेत उल्लेख गरे । उनले स्मितका बुवा भूपेन्द्रभाइ, आमा गीताबेन र पत्नी सोनलबेनको साहस र संयमको प्रशंसा गरे ।
मोदीले सावरकुन्डलासहित भारतका विभिन्न स्थानमा स्मितको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना भइरहेको बताएका थिए । उनले क्याप्टेन स्मितको उपचारमा सहयोग पुर्याएका साउदी अरब र यूएई सरकारप्रति पनि धन्यवाद व्यक्त गरे ।
मोदीले आवश्यक परेको अवस्थामा आफू सहयोगका लागि उपलब्ध रहेको बताउँदै क्याप्टेन स्मितको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।