भारतका मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामा माग्दै दिल्लीमा भएको प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दिल्लीको जन्तरमन्तर क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरीको कारबाहीमा करिब ७०० जना पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका पछिल्ला विवरणमा भने जन्तरमन्तर र आसपासबाट ५०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको उल्लेख छ ।
प्रदर्शनमा विद्यार्थी, सामाजिक अभियन्ता तथा विभिन्न विपक्षी राजनीतिक दलसँग आबद्ध नेता–कार्यकर्ता सहभागी भएका थिए । पक्राउ पर्नेमा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी, आम आदमी पार्टीका दिल्ली प्रमुख सौरभ भारद्वाज, सामाजिक अभियन्ता योगेन्द्र यादव तथा अखिल भारतीय विद्यार्थी संघ (AISA) की अध्यक्ष नेहा बोरा लगायत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदर्शनकारीहरूले निर्वाचन आयोगको कामकारबाही र मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (SIR) प्रक्रियालाई लिएर प्रश्न उठाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन् । यसअघि पनि दिल्लीमा यस्तै मागसहित प्रदर्शन हुँदा दर्जनौँ व्यक्ति पक्राउ तथा नियन्त्रणमा लिइएका थिए ।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले जन्तरमन्तर तथा नयाँदिल्ली क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको थियो । प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको जनाएको थियो भने नयाँदिल्ली जिल्लामा भारतीय नागरिक सुरक्षा संहिता (BNSS) को धारा १६३ अन्तर्गत निषेधात्मक आदेशसमेत लागू गरिएको थियो ।
प्रदर्शनका कारण दिल्ली मेट्रोका ११ वटा स्टेशनमा प्रवेश तथा बाहिरिने ढोका बन्द गरिएको थियो । जन्तरमन्तर, संसद् मार्ग, कन्नट प्लेस र आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापनसमेत कडा पारिएको थियो ।
यसैबीच, मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ‘ककरोच जनता पार्टी’ (CJP) ले पनि देशका विभिन्न स्थानमा आन्दोलन गर्ने घोषणा गरेको छ । समूहले मतदाता नामावलीको SIR प्रक्रियामा कथित अनियमितता भएको आरोप लगाउँदै आन्दोलन अघि बढाएको जनाएको छ ।