क्रिप्टोकरेन्सी कारोबार तथा हुण्डीमार्फत ठूलो रकम ओसारपसार गरेको आरोपमा पक्राउ परेका तीन नेपालीमध्ये एक जना ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् भने दुई जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।
जिल्ला अदालत पर्साका न्यायाधीश ठाकुर खरेलको इजलासले थुनछेक बहसपछि गत बिहीबार तीन नेपाली प्रतिवादीसँग जनही ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउने बाराको प्रसौनी गाउँपालिका–१ का २६ वर्षीय सागरकुमार साह रिहा भएका छन् । सोही ठाउँका ३२ वर्षीय उपेन्द्रकुमार साह र पर्साको विन्दवासिनी गाउँपालिका–४ का २५ वर्षीय राहुलकुमार गुप्ता धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले गत साउन २५ गते वीरगंज महानगरपालिका–१०, आदर्शनगरबाट ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको थियो । भारतको रक्सौलबाट मोटरसाइकलमा हुण्डीको रकम नेपाल भित्र्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सागरकुमार साह, उपेन्द्रकुमार साह, राहुलकुमार गुप्ता र भारतको बिहारका २६ वर्षीय सुरजकुमार रहेका छन् । भारतीय नागरिक सुरजकुमारबाहेक तीन नेपाली प्रतिवादीसँग अदालतले धरौटी माग गरेको हो ।
प्रहरी अनुसन्धानअनुसार पक्राउ परेका चार जनाले विभिन्न बैंक खातामार्फत ठूलो रकमको कारोबार गरेका थिए। सागरकुमार साहले १७ वटा बैंक खातामार्फत १ अर्ब ३९ करोड ९८ लाख १२ हजार २७७ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीको दाबी छ । त्यस्तै, उपेन्द्रकुमार साहले नौवटा खातामार्फत ४६ करोड ९७ लाख ५ हजार ४३४ रुपैयाँ, राहुलकुमार गुप्ताले १३ वटा खातामार्फत ३ करोड ७ लाख ६६ हजार ३७० रुपैयाँ र सुरजकुमारले विभिन्न खातामार्फत ३ करोड ८९ लाख १६ हजार ६६९ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
बैंक खाताका विवरण, भौचर, मोबाइल फोन, ह्वाट्सएप च्याट तथा डिजिटल कारोबारको विश्लेषणबाट कुल २ अर्ब ३९ करोड २२ लाख ६८ हजार ७९३ रुपैयाँ बराबरको कारोबार देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार करिब १० जनाको समूहले भारतको रक्सौल, मोतिहारीलगायत सीमावर्ती सहरबाट हुण्डीमार्फत रकम नेपाल भित्र्याउने र डिजिटल माध्यमबाट विदेशमा रकम पठाउने गतिविधि गर्दै आएको आशंका गरिएको छ ।
अनुसन्धानअनुसार नेपाल ल्याइएको रकम विभिन्न व्यक्तिका बैंक खातामा जम्मा गर्ने, त्यसपछि फोनपे, कनेक्ट आईपीएसलगायत डिजिटल माध्यमबाट अर्को खातामा स्थानान्तरण गर्ने र स्थानीय व्यवसायीसँग नगद साटासाट गर्ने शैली अपनाइएको थियो ।
प्रहरीले सुरुमा संगठित अपराध, हुण्डी कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय पर्साले पक्राउ परेका प्रतिवादीविरुद्ध हुण्डी कारोबारसम्बन्धी कसुरमा मात्र अभियोगपत्र दायर गरेको छ ।
सरकारी वकिल कार्यालयका सूचना अधिकारी तथा सहायक जिल्ला न्यायाधिवक्ता अनन्त न्यौपानेका अनुसार प्रहरीले अनुसन्धानका लागि अदालतबाट ४६ दिनको म्याद पाएको थियो । उक्त अवधिमा प्राप्त प्रमाणका आधारमा हुण्डी कारोबारसम्बन्धी अभियोगपत्र दायर गरिएको उनले बताए ।
न्यौपानेका अनुसार प्रतिवादीका खातामा ठूलो रकमको कारोबार देखिए पनि रकम अन्य कुन–कुन व्यक्तिको खातामा, कुन प्रयोजनका लागि र अन्ततः कसको लाभमा प्रयोग भयो भन्ने विषय पर्याप्त रूपमा खुल्न सकेको छैन। प्रतिवादीहरूको जायजेथाबारे समेत स्पष्ट तथ्य फेला नपरेको उनले बताए ।
“हुण्डीबाहेकका अन्य कसुरमा प्रहरीको अनुसन्धान अपुग देखियो । बैंकिङ कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पर्याप्त आधार नदेखिएपछि अभियोगपत्र दायर गरिएको हो,” न्यौपानेले भने, “थप तथ्य खुल्दै गएमा पछि अन्य मुद्दा चलाउन सकिन्छ ।”
यता, पर्सा प्रहरीले भने अनुसन्धानका क्रममा तीनवटै कानुनी आधार समेटेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले प्रहरीले आफ्नो अनुसन्धानको समयभित्र संगठित अपराध, हुण्डी कारोबार र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय समेटेर प्रतिवेदन बुझाएको बताएका छन् ।