जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन् ।
वीरगन्जको ब्रह्मचोकस्थित पार्टी प्यालेसमा शनिबार सुरु भएको महाधिवेशनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुली, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलगायत विभिन्न दलका नेताहरू सहभागी भएका हुन् ।
उद्घाटन समारोहमा नेसपा अध्यक्ष रिजवान अन्सारी, नेपाली कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादव तथा स्वतन्त्र अभियन्ता ऋषि धमलालगायतको पनि उपस्थिति रहेको छ।
महाधिवेशन उद्घाटन समारोहको अध्यक्षता जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष तथा महाधिवेशन व्यवस्थापन समितिका संयोजक ओमप्रकाश सरार्फले गरेका थिए ।
कार्यक्रममा सहिद परिवारकी राधा यादवसहित जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त (सीके) राउत पनि सहभागी थिए ।
महाधिवेशनमा विभिन्न दलका नेताहरूको उपस्थितिलाई दलहरूबीचको राजनीतिक संवाद र सहकार्यको अवसरका रूपमा समेत हेरिएको छ ।