बारा । बारा क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट जारी परमादेशपछि जिल्ला प्रहरी कार्यालय बारामा गत असोज ६ गते मुद्दा दर्ता गरिएको हो ।
देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अदालतको परमादेशपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। उनका अनुसार हालसम्म सांसद सिंहसहित कसैविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छैन ।
जाहेरीमा महतोले आफूले गाउँमा हुने गलत गतिविधिको विरोध तथा विकाससम्बन्धी काममा सक्रियता देखाएपछि आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने निर्णय गरिएको आरोप लगाएका छन् । आफू र परिवारका सदस्यलाई विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको, सार्वजनिक तथा धार्मिक स्थलमा समेत बहिष्कार गर्न खोजिएको र आफ्नो व्यक्तिगत चरित्र तथा सामाजिक प्रतिष्ठामा असर पर्ने गरी विभिन्न कुरा प्रचार गरिएको दाबी उनले जाहेरीमा गरेका छन् ।
महतोले घटनासँग सम्बन्धित प्रमाणका रूपमा सामाजिक बहिष्कारसम्बन्धी निर्णयको प्रतिलिपिसमेत प्रहरीमा पेस गरेको र आवश्यक अनुसन्धान तथा सरजमिन गरी सत्यतथ्य पत्ता लगाउन माग गरेको प्रहरीले जनाएको छ ।
जाहेरीमा सांसद सिंहसँगै अन्य १३ जनाको नामसमेत उल्लेख गरिएको छ। उनीहरूविरुद्ध लगाइएका आरोप भने अनुसन्धानबाट पुष्टि हुन बाँकी छन् । प्रहरीले घटनासँग सम्बन्धित प्रमाण, आरोपको प्रकृति तथा संलग्न व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि पनि मुद्दा दर्ताका लागि प्रयास भएको र उच्च अदालतको परमादेशपछि मात्रै मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक कुँवरले बताएका छन् । मुद्दा दर्ता हुनु आरोपको पुष्टि वा दोषी ठहर हुनु होइन; त्यसको टुंगो अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट लाग्नेछ ।