बारा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दनकुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारको आरोपमा मुद्दा दर्ता भएको छ ।
उच्च अदालत जनकपुरको बीरगंज इजलासबाट जारी परमादेशअनुसार गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय बारामा मुद्दा दर्ता गरिएको हो। देवताल गाउँपालिका–५ निवासी ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा सांसद सिंहसहित १४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अदालतको परमादेशपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि मुद्दा दर्ताका लागि प्रयास भएको भए पनि दर्ता हुन नसकेको र अहिले अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको उनले बताए। प्रहरीले हालसम्म पक्राउ पुर्जी भने जारी नगरेको जनाएको छ ।
जाहेरीमा महतोले आफूले गाउँमा भइरहेका गलत गतिविधि तथा विकास निर्माणमा देखिएका अवरोधको विरोध गरेपछि आफूलाई सामाजिक रूपमा बहिष्कार गर्ने निर्णय गरिएको आरोप लगाएका छन्। उनका अनुसार २०८१ साल कात्तिक २७ गते विभिन्न व्यक्तिहरूको उपस्थितिमा आफूलाई समाजबाट अलग गर्ने निर्णय गरिएको थियो ।
महतो देवताल गाउँपालिकामा सुपरभाइजरका रूपमा करार सेवामा कार्यरत रहेको र सोही क्रममा आफूले विकाससम्बन्धी काममा पहल गर्दा विवाद उत्पन्न भएको जाहेरीमा उल्लेख छ। उक्त घटनापछि आफू सात दिनका लागि निलम्बनमा समेत परेको उनले दाबी गरेका छन् ।
जाहेरीमा आफू र परिवारका सदस्यलाई विवाह, सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन रोक लगाउने, सार्वजनिक तथा धार्मिक स्थलमा समेत बहिष्कार गर्ने, अपमानजनक व्यवहार गर्ने र आफ्नो चरित्र तथा सामाजिक प्रतिष्ठामा असर पर्ने किसिमका प्रचार गर्ने गरिएको आरोप लगाइएको छ ।
महतोले गाउँका दलित, गरिब, विपन्न तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई आफूविरुद्ध प्रयोग गर्न पैसा तथा अन्य प्रलोभन दिइएको आरोपसमेत लगाएका छन्। यस्ता गतिविधिका कारण आफ्नो व्यक्तिगत प्रतिष्ठा तथा परिवारको सामाजिक जीवनमा असर परेको भन्दै उनले दोषीमाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।
जाहेरीमा सांसद सिंहसहित रामबाबु प्रसाद यादव, ईश्वर चौधरी, विश्वनाथ सिंह, दिला सिंह, भैरव राउत, शिवदर्शन पण्डित, वीरेन्द्र पासवान, प्रमोद प्रसाद साह, हरिनारायण गिरी, रामबाबु यादव, भोडीलाल साह, रामेश्वर महतो र देवराज महतोको नाम उल्लेख गरिएको छ ।
जाहेरीसँगै घटनासँग सम्बन्धित निर्णयको प्रतिलिपिलगायतका कागजातसमेत प्रमाणका रूपमा पेश गरिएको जनाइएको छ। प्रहरीले जाहेरीमा उल्लेख गरिएका आरोपमाथि अनुसन्धान गरिरहेको जनाएको छ।
सांसद सिंह यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट देवताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। पछि जनता समाजवादी पार्टी नेपाल र लोसपाबीचको एकीकरणपछि उनी रास्वपामा प्रवेश गरी बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।