मोरङमा प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट ९.३७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१६ दरैया चोक र दक्षिण गेटबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले दरैया चोकबाट सुनसरीको धरान उपमहानगरपालिका–९ का ३३ वर्षीय नरेश खडगी र ३५ वर्षीय कृष्णा राईलाई पक्राउ गरेको हो। भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा कृष्णा राईको साथबाट ४.४७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
त्यस्तै, विराटनगर–१६ स्थित दक्षिण गेटबाट मोरङको केराबारी गाउँपालिका–६ का २१ वर्षीय शुसान्त वि.क. र २० वर्षीय निर्मल तामाङ पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा शुसान्त वि.क.को साथबाट ४.९० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै घटनामा पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।