जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका चार थान आईफोन बरामद गरिएको हो । बरामद मोबाइलमा तीन थान iPhone 17 र एक थान iPhone 15 रहेका छन् । ती मोबाइलको अनुमानित मूल्य ५ लाख ५२ हजार २१० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरिएको ४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ बराबरका कस्मेटिक सामान तथा स्याउ बरामद गरिएको छ । दुवै स्थानबाट बरामद गरिएका मोबाइल फोन, कस्मेटिक सामान र स्याउलगायतका वस्तुको कुल अनुमानित मूल्य १० लाख ६ हजार ७ सय ६० रुपैयाँ रहेको छ ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि असोज १९ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
भिडियाे रिपाेर्ट