स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको विवरणलाई एकीकृत गर्दै डिजिटल अभिलेखमा राख्न मानव संसाधन सूचना प्रणाली (एचआरआईएस) कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
प्रस्तावित प्रणालीमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको दरबन्दी, पद, कार्यरत संस्था, पदस्थापन, सेवा समूह, तह र कर्मचारी संख्या लगायतका विवरण एकीकृत रूपमा राखिने मन्त्रालयले जनाएको छ ।
एचआरआईएस सञ्चालनमा आएपछि कुन कर्मचारी कहाँ कार्यरत छन्, कुन स्वास्थ्य संस्थामा कति जनशक्ति उपलब्ध छ र कुन क्षेत्रमा थप जनशक्तिको आवश्यकता छ भन्ने विवरण सहज रूपमा पहिचान गर्न सकिनेछ ।
त्यस्तै, कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी विवरण पनि डिजिटल रूपमा अद्यावधिक गरिनेछ। यसबाट स्वास्थ्य जनशक्तिको वितरण, आवश्यकता र उपलब्धताको अवस्थाबारे तथ्यांकमा आधारित विश्लेषण गर्न सहज हुने मन्त्रालयको अपेक्षा छ ।
मन्त्रालयका अनुसार प्रणाली सञ्चालनका लागि आवश्यक प्राविधिक संरचना तथा कर्मचारीसम्बन्धी विवरण व्यवस्थापनको काम अघि बढिसकेको छ। अब प्रणालीलाई नियमित प्रयोगमा ल्याउँदै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी भइरहेको छ ।
एचआरआईएसले स्वास्थ्य जनशक्ति व्यवस्थापनसँग सम्बन्धित निर्णयका लागि आवश्यक तथ्यांक तत्काल उपलब्ध गराउने र जनशक्ति परिचालनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।