सर्लाहीको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई मंगलबार साँझ सेवाग्राहीबाट घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अख्तियार स्रोतका अनुसार नक्सा पास गरिदिने भन्दै इन्जिनियर यादवले सेवाग्राहीसँग रकम मागेको सूचना प्राप्त भएपछि टोली मलंगवा नगरपालिका पुगेको थियो। सोही क्रममा सेवाग्राहीबाट १ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।
अख्तियारको टोलीले यादवसँगै थप एक जनालाई पनि नियन्त्रणमा लिएको छ। तर ती व्यक्तिको परिचय र घटनामा उनको भूमिकाबारे अख्तियारले हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरेको छैन ।
नियन्त्रणमा लिइएका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। अनुसन्धानपछि घटनाको थप विवरण सार्वजनिक गरिने बताइएको छ ।