पशुपतिनाथ मन्दिरको मुख्य परिसरभित्र प्रवेश गरेको आरोपमा इटहरीका एक दम्पती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरीकी प्रियंका परियार र उनका श्रीमान् ओसीम अन्सारी रहेका छन्। पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउपछि दुवैलाई काठमाडौं ल्याएर प्रहरी वृत्त गौशालामा पठाइएको छ। पशुपतिनाथ मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चा भएपछि घटनाले व्यापक ध्यान तानेको थियो ।
केही दिनअघि अन्सारी दम्पती पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीहरूले त्यहाँ भिडियोसमेत बनाएका थिए। उक्त भिडियोमा ओसीमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि सामाजिक सञ्जालमा उनीहरूको मन्दिर प्रवेशलाई लिएर प्रश्न उठाइएको थियो ।
यस विषयमा सांसद खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत प्रश्न उठाएपछि पशुपति क्षेत्र विकास कोषले दम्पतीविरुद्ध प्रहरीमा जाहेरी दिएको बताइएको छ।
यता, पक्राउ पर्नुअघि दम्पतीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका थिए। उनीहरूले आफूहरू पशुपतिनाथ मन्दिरको मूल ढोकाबाट प्रवेश गरे पनि भित्रको भागमा जान नपाएको र सुरक्षाकर्मीले भर्याङबाट फर्काएको दाबी गरेका थिए ।
प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र रहेको र श्रीमान्लाई पनि मन्दिर देखाउन आफू त्यहाँ गएको बताएकी छन् ।
ओसीम इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन्। उनी इटहरी–८ का स्थायी बासिन्दा रहेको बताइएको छ। पक्राउ परेका दम्पतीमाथि लागेको आरोपबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।