बैंक तथा वित्तीय संस्थामा अतिरिक्त तरलता बढेपछि नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिनका लागि उक्त रकम बैंकिङ प्रणालीबाट तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ३० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल हुनेछ। बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले सहभागिता जनाउन पाउनेछन् ।
सहभागी संस्थाले आफूले राख्न चाहेको रकमसँगै ब्याजदरसमेत प्रस्ताव गर्नुपर्नेछ। बहुबोलकबोलमार्फत ब्याजदर प्रस्ताव गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ। प्रस्तावित ब्याजदरमध्ये कम ब्याजदरलाई प्राथमिकता दिँदै निक्षेप संकलन गरिनेछ ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि राष्ट्र बैंकले आह्वान गरेको कुल रकमसम्म प्रस्ताव गर्न सक्नेछन्। रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्नेछ ।
राष्ट्र बैंकमा राखिएको यस्तो निक्षेपलाई बैंक तथा वित्तीय संस्थाले अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने सापटीमा धितोका रूपमा समेत प्रयोग गर्न सक्नेछन् ।
बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा तरलता थुप्रिँदै गएको छ। यही अवस्थालाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्लो समय पटक–पटक निक्षेप संकलन उपकरणमार्फत प्रणालीबाट पैसा खिच्दै आएको छ ।
यसपटक संकलन गरिने ३० अर्ब रुपैयाँको सावाँ तथा ब्याज २८ दिनपछि अर्थात् आगामी कात्तिक १८ गते भुक्तानी गरिनेछ ।
हाल बैंक तथा वित्तीय संस्थामा करिब ८४ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा प्रवाह करिब ६० खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। सीडी रेसियोको सीमाअनुसार बैंकहरूसँग अझै करिब १६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्ने क्षमता रहेको छ ।
तर कर्जाको माग पर्याप्त रूपमा नबढ्दा बैंकिङ प्रणालीमा ठूलो रकम निष्क्रिय अवस्थामा रहँदै आएको छ। यही अतिरिक्त तरलता नियन्त्रण र ब्याजदर तथा मौद्रिक व्यवस्थापनलाई सन्तुलित राख्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो ।