वीरगंज महानगरपालिका–२३ निवासी राजु बैठाले राजनीति शास्त्र विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेपछि वीरगंज महानगरपालिकाले उनलाई विशेष सम्मान गरेको छ ।
भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालय (RIMT University) बाट राजनीति शास्त्रमा पीएचडी उपाधि हासिल गरेका बैठाले ‘Performance Evaluation of Birgunj Metropolitan Municipality: A Study of Selected Services’ शीर्षकमा डक्टरेट तहको अनुसन्धान सम्पन्न गरेका हुन् ।
आफ्नो समुदायबाट पीएचडी उपाधि हासिल गर्ने आफू पहिलो व्यक्ति भएको डा. बैठाले बताएका छन् । उनलाई वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खादा लगाएर सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा महानगर प्रमुख सिंहले डा. बैठाको शैक्षिक उपलब्धिले वीरगंजको नाम देश–विदेशमा उज्यालो बनाएको बताए । उनले भने, “डा. बैठाले आफ्नो शैक्षिक उपलब्धिबाट महानगरको नाम देश–विदेशमा उज्ज्वल बनाउनुभएको छ। उहाँलाई महानगरको तर्फबाट सम्मान गर्न पाउँदा हामी सबै गर्वान्वित छौँ ।”
सो अवसरमा डा. बैठाले आफ्नो अनुसन्धानमा आधारित पुस्तकसमेत महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए ।
डा. बैठाले गरेको अनुसन्धानमा वीरगंज महानगरपालिकाले नागरिकलाई उपलब्ध गराउँदै आएका सार्वजनिक सेवाको कार्यक्षमता, प्रभावकारिता तथा परिणाममूलक पक्षको अध्ययन गरिएको छ। अनुसन्धानले स्थानीय सरकारको सेवा प्रवाहमा देखिएका चुनौती तथा सुधारका सम्भावनाबारे तथ्यगत आधार प्रस्तुत गरेको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले अनुसन्धानबाट प्राप्त निष्कर्ष महानगरपालिकाका लागि उपयोगी हुने बताए। अनुसन्धानले औँल्याएका विषयलाई आधार बनाएर सेवा प्रवाहमा आवश्यक सुधार तथा त्यसको कार्यान्वयन अघि बढाउन सहज हुने उनको भनाइ थियो ।
सम्मान ग्रहण गर्दै डा. बैठाले आफूलाई प्राप्त प्रेरणा, सहयोग र साथकै कारण यस उचाइसम्म पुग्न सफल भएको बताए। उनले आगामी दिनमा पनि शिक्षा, अनुसन्धान तथा सामाजिक योगदानमार्फत क्षेत्रको विकासमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
भिडियाे रिपाेर्ट