नेपाल वायुसेवा निगमले आफूसँग भएका जहाज पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिरहेका बेला थप जहाज लिजमा ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सरकारले नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तारका लागि लिज मोडलबाट जहाज थप्न निगम व्यवस्थापनलाई निर्देशन दिएपछि प्रक्रिया अघि बढाउने तयारी भएको हो ।
निगमका पाँच चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विनअटरसमेत लामो समयदेखि ग्राउन्डेड छ। अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा ए–३३० वाइडबडी लामो समयदेखि इटालीमा मर्मतका क्रममा छ ।
निगमका अनुसार अहिले अन्तर्राष्ट्रिय उडानमा तीनवटा जहाज सञ्चालनमा छन्। आन्तरिकतर्फ चारवटा जहाज सञ्चालनमा रहे पनि एउटा बिग्रिएर ग्राउन्डेड अवस्थामा रहेको निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले तत्काल जहाज खरिद गर्न सम्भव नभएकाले लिजमा जहाज थपेर नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएका छन् ।
तर, आफ्नै जहाजको व्यवस्थापन, मर्मत तथा व्यावसायिक उपयोग प्रभावकारी बनाउन नसकेको अवस्थामा थप जहाज लिजमा ल्याउने निर्णयले निगममाथि थप आर्थिक दायित्व बढाउने जोखिम देखिएको छ।
एउटा वाइडबडी लामो समयदेखि मर्मतमा
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग दुई ए–३२० न्यारोबडी र दुई ए–३३० वाइडबडी गरी चारवटा जहाज छन्। तीमध्ये एउटा ए–३३० वाइडबडी अहिले इटालीमा ‘सी चेक’ का लागि पठाइएको छ ।
मर्मतका क्रममा थप प्राविधिक समस्या देखिएपछि जहाजको नेपाल फर्किने समय लम्बिएको निगमले जनाएको छ। ‘फर्दर फाइन्डिङ’ आएपछि इन्जिनसम्बन्धी काम गर्नुपर्ने भएकाले आवश्यक पार्ट्स खरिद तथा ढुवानी प्रक्रियासमेत लम्बिएको निगमको भनाइ छ ।
सुरुमा करिब २१ दिनमा मर्मत सकेर सेप्टेम्बर १ सम्म जहाज नेपाल फर्काउने योजना भए पनि थप प्राविधिक समस्या देखिएपछि करिब एक महिना बढी समय लागेको कालाखेतीले बताए।
जहाज अभावका कारण पछिल्लो समय निगमका उडान प्रभावित भएका छन्। एउटा ए–३२० मा इन्जिनको तेल चुहावट देखिएपछि केही समय उडान प्रभावित भएको थियो। आवश्यक पार्ट्स तत्काल उपलब्ध नहुँदा जहाज ग्राउन्डेड भएको र जहाज अभावकै कारण मलेसिया उडानसमेत रद्द गर्नुपरेको निगमले जनाएको छ ।
पाँच चिनियाँ जहाज वर्षौंदेखि उडानबाहिर
निगमसँग रहेका दुई एमए–६० र तीन वाई–१२ गरी पाँच चिनियाँ जहाज करिब पाँच–छ वर्षदेखि व्यावसायिक उडानमा छैनन् ।
निगमका निमित्त महाप्रबन्धक कालाखेतीका अनुसार ती जहाज बिग्रिएर मात्रै थन्किएका होइनन्। सञ्चालक समितिले व्यावसायिक रूपमा लाभदायक नदेखिएपछि ती जहाजलाई ग्राउन्डेड गरिएको हो।
ती जहाज लिजमा दिने वा बिक्री गर्ने प्रयास भए पनि पर्याप्त बोलपत्रदाता नआएपछि व्यवस्थापनबारे ठोस निर्णय हुन सकेको छैन। निगमसँग सुरुमा रहेका ६ चिनियाँ जहाजमध्ये एउटा नेपालगन्जमा दुर्घटनामा परेपछि पाँचवटा मात्र बाँकी छन् ।
लिजमा जहाज ल्याउन लामो प्रक्रिया
निगमले तत्कालै कुनै कम्पनीसँग सम्झौता गरेर जहाज लिजमा ल्याउन नसकिने जनाएको छ। यसका लागि आन्तरिक मूल्यांकन, अध्ययन, सञ्चालक समितिको निर्णय, सार्वजनिक सूचना र प्रतिस्पर्धात्मक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
कालाखेतीका अनुसार लिजमा जहाज ल्याउने विषय अहिले प्रक्रियागत चरणमै छ। कानुनी प्रक्रिया पूरा नगरी जहाज लिजमा लिन नमिल्ने उनले स्पष्ट पारे ।
सरकारले भने जहाज थपेर नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्नुपर्नेमा जोड दिएको छ। मन्त्री पौडेलले नेपालको करिब १५० अर्ब रुपैयाँबराबरको उड्डयन बजारमा निगमको हिस्सा २० प्रतिशतभन्दा कम रहेको भन्दै जहाज थपेर र व्यवस्थापन सुधार गरेर बजार हिस्सा बढाउन सकिने बताएका छन् ।
जहाज थप्ने कि व्यवस्थापन सुधार्ने ?
निगमका लागि नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न थप जहाज आवश्यक रहेको तर्क गरिँदै आए पनि उपलब्ध जहाजको अधिकतम उपयोग गर्न नसकेको विषयमा प्रश्न उठेको छ।
एकातिर पाँच चिनियाँ जहाज वर्षौंदेखि थन्किएका छन् भने अर्कोतिर अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने एउटा वाइडबडी महिनौँदेखि विदेशमा मर्मतमा छ। सञ्चालनमा रहेका जहाजमा समेत प्राविधिक समस्या देखिँदा उडान प्रभावित हुने गरेको छ ।
यस्तो अवस्थामा नयाँ जहाज लिजमा ल्याउँदा भाडासँगै मर्मत, बिमा, चालक दल, सञ्चालन र पार्किङलगायतका अतिरिक्त खर्च थपिनेछन्। त्यसैले आफ्नै जहाजको व्यवस्थापन र सञ्चालन प्रणाली सुधार नगरी लिजमा थप जहाज ल्याउँदा निगममाथि आर्थिक भार बढ्न सक्ने जोखिम देखिएको छ ।
लिजमा जहाज ल्याउने विगत पनि विवादित
नेपाल वायुसेवा निगममा जहाज तथा इन्जिन लिजमा लिने विषय विगतमा समेत विवादमा पर्दै आएको छ। लाउडा एयरबाट बोइङ–७६७ भाडामा लिने निर्णय, चेस एयरमार्फत बोइङ–७५७ ल्याउने प्रयास तथा वाइडबडी खरिद प्रक्रियालगायतका विषयमा निगममाथि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ ।
पछिल्लो समय पनि ए–३२० जहाज ग्राउन्डेड भएपछि इन्जिन भाडामा लिने विषय विवादमा परेको थियो। इन्जिन भाडामा लिने र फिर्ता गर्ने क्रममा निगमले ठूलो रकम तिर्नुपरेको विषयसमेत सार्वजनिक भएको थियो ।
यसपटक सरकारले नयाँ गन्तव्य विस्तारका लागि लिजमा जहाज थप्न जोड दिए पनि निगमको तत्कालीन चुनौती नयाँ जहाज थप्नु मात्रै नभई वर्षौंदेखि थन्किएका जहाजको व्यवस्थापन, मर्मतमा रहेका जहाज समयमै सञ्चालनमा ल्याउने र स्पेयर पार्ट्सको भरपर्दो आपूर्ति प्रणाली बनाउने देखिएको छ ।