मोरङको लेटाङ नगरपालिका–७, वारङ्गी कोलाघारमा घरमै आरन सञ्चालन गरी भरुवा बन्दुक बनाउने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ४५ वर्षीय पूर्णलावती लिम्बु रहेका छन्। प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लिम्बुले घरमै भरुवा बन्दुक निर्माण गर्ने आरन सञ्चालन गर्दै आएका थिए। निर्माण गरिएका बन्दुक बिक्रीसमेत गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान लिम्बुको घरमा खानतलासी गर्दा उनको कोठाबाट एक थान भरुवा बन्दुक बरामद भएको थियो। यस्तै, हतियार निर्माणका लागि प्रयोग हुने आरन रहेको अर्को कोठाबाट एक थान दबासवाला बन्दुक तथा भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
अवैध हातहतियार तथा निर्माण सामग्रीसहित पक्राउ परेका लिम्बुमाथि इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।