पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा यसअघि तीन जनाको मृत्यु भएको पुष्टि भएकोमा थप दुई बालिकाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।
एसपी कार्कीका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ। मृत्यु भएका विद्यार्थीहरूको पहिचान भने खुल्न सकेको छैन। उद्धार कार्य सम्पन्न भएपछि मात्रै पहिचानको प्रक्रिया अघि बढाइने उनले बताएका छन्।
पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा २५ जना सवार रहेको बताइएको छ। तीमध्ये २१ जना विद्यार्थी थिए।
प्रहरीका अनुसार सबै विद्यार्थी कक्षा १० मा अध्ययनरत थिए। उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै गर्दा दुर्घटनामा परेका हुन्।
दुर्घटनाको थप विवरण र घाइतेहरूको अवस्थाबारे जानकारी आउन बाँकी छ।