जनकपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा सवार पाँचजनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन भारतीय र दुई नेपाली नागरिक रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरुङमार्गमा बस जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहारस्थित समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार छन् । त्यस्तै, धादिङको गल्छी गाउँपालिका–६ की २३ वर्षीया कृष्टी खड्की र २५ वर्षीय रामकृष्ण खड्की पनि पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ३२.७३० ग्राम खैरो हेरोइन, ट्रामाडोलका १ हजार ११० क्याप्सुल, आठ थान मोबाइल र ७५ हजार २२० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचैजनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।